बाबुले तीन रुपैयाँमा बेचेको गोलभेडा छोराले किन्दा तीस रुपैयाँ

बाबुले गाउँमा तीन रुपैयाँ प्रतिकेजीमा बेचेको गोलभेडा शहरमा बसेको छोराले ३० रुपैयाँमा किन्छ भन्दा धेरैलाई अचम्म लाग्ला।

गोलभेडाको बजारीकरणमा उत्पन्न समस्याले पाँचथरमा यस्तै भएको छ। कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले प्रतिकेजी तीन रुपैयाँमा समेत गोलभेडा बेच्न कठिन भएको बताए।

तर उनले बेचेको त्यही गोलभेडा झापाको बिर्तामोडमा बस्ने छोराले भने ३० रुपैयाँमै किनेर खाने गरेका छन्। ‘मैले यहाँ ३ रुपैयाँमा बेचेको गोलभेडा बिर्तामोडमा बस्ने छोराले ३० रुपैयाँमा किन्दो रहेछ’ पोखरेलले भने।

आफूहरुको लागत मूल्य नै प्रतिकेजी ९ रुपैयाँ बढी परेको किसान बताउँछन्। तर ३ रुपैयाँमा पनि बिक्री नभएपछि यहाँका किसानले केही दिनअघि सडकमै गोलभेडा पोखेर विरोध जनाए।

विभिन्न कारण देखाई विगत एक महिनायता उत्पादित गोलभेडाको निर्यातमा भएको अवरोधका कारण बारीमै कुहिएको हो। पाँचथर हिलिहाङ गाउँपालिका १, २, ३, ४, ६ र ७ नम्वर वडा तथा याङवरक गाउँपालिकाका वडा नं. ५ र ६ मा करिव १२ हजार किसानले व्यवसायिक रुपमा गोलभेडा उत्पादन गर्ने गरेका छन्।

किसानले उचित मूल्य नपाउने तर शहरमा जाँदा त्यही गोलभेडा महँगो पर्न थालेपछि पाँचथर उद्योग बाणिज्य संघले समाधानको पहल थालेको छ।

संघले आन्तरिक र बाह्य बजारको खोजी गर्न सरोकारवाला पक्षहरुसँग छलफल गरेको हो। छलफलमा किसान तथा सरोकारवालाहरुले निकासी सम्बन्धी सन्धी प्रभावकारी हुन नसक्दा मारमा परेको गुनासो गरे।

हिलिहाङका किसान भानु ढकालले सरकारले नै मूल्य निर्धारण गर्नुपर्ने, किसानलाई कम मूल्य दिने विचौलियालाई निस्तेज गर्नुपर्नेमा जोड दिए।
अर्का किसान वीरेन्द्र काफ्लेले गत वर्ष पाँचथरको हिलिहाङ र याङवरक गाँउपालिकाबाट ११ करोड २५ लाख रुपैयाँको गोलभेडा विक्री भएको बताउँदै यस वर्षको मुख्य सिजनमा एक करोड ४३ लाख रुपैयाँको मात्रै भएको बताए।

नगदेवालीमा भविश्य देखेका किसानलाई स्थानीय सरकारले समेत सहयोग गर्नुपर्नेमा उनले जोड दिए। बजारीकरणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले चासो दिनुपर्ने कृषकको माग छ। प्रति बोट ३ देखि ७ किलोसम्म गोलभेडा उत्पादन हुने गरेको कृषक काफ्लेको भनाई छ।

बिरुवा रोपेको ९२ औँ दिनदेखि टमाटर टिप्न सुरु हुन्छ। पाँचथरको हिलिहाङ र याङवरक गाँउपालिकामा मात्रै टमाटर फल्ने सिजनमा प्रतिदिन ४० टन उत्पादन हुने गरेको छ।

पाँचथर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष मित्रप्रसाद काफ्लेले टमाटरमा प्रयोग हुने विषाधीलाई न्यूनिकरण गर्नुपर्ने, स्थानीय तहले टमाटरका लागि आवश्यक पहल गर्नुपर्ने बताए।

संघका अध्यक्ष दीपक नेपालले जिल्लालाई अर्गानिक बनाउनु पर्ने र बाली बीमा गर्नुपर्ने भन्दै विषादी प्रयोगमा किसान आफै सचेत हुनु पर्नेमा जोड दिए। नेपालले टमाटरका बजारीकरणका लागि संघले केन्द्र तथा प्रदेश सरकार लगायत सम्बन्धित निकायमा सक्दो पहल गर्ने प्रतिवद्धता समेत जनाए। तस्वीरः लेखनाथ खतिवडा/सेतोपाटी

स्रोत Setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *